समाचार

शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

बर्दिवास । महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत सम्भार नपाएपछि खण्डहर बनेको हो ।

नेपाली काङ्ग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा पञ्चायतकालमा विसं २०३१ साउन ३१ गते राति मटिहानीमा प्रहरीले गोली हानी कोइरालाको हत्या गरेको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि दशगजा (नेपाल–भारत सीमास्तम्भ) बाट ५०० मिटरभित्र कोइरालाको सहादतस्थलमै विसं २०५४ मा बनेको स्मारक त्यसयता देखभाल र मर्मत नपाएर बेवारिस बनेको उहाँका पुराना साथी बताउँछन् ।

“केशवजस्ता सपूतको सहादतले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो, त्यसयता लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनसँगै मुलुकले लोकतान्त्रिक संविधान पनि पायो” शहीद केशवसँगै आन्दोलनमा होमिएका उनका साथी महोत्तरीको जलेश्वर नगरपालिका–५ का बासिन्दा पूर्वमन्त्री गणेश नेपालीले भने, “तर, हामी कृतघ्न भएछौँ, केशवको स्मारकस्थलको बिजोग देख्दा उनको प्रतिमा किन राखिएछ भन्ने लागेको छ ।”

शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित सहादतस्थल (हालको श्रीराम माध्यमिक विद्यालय परिसर) मा निर्माण भएको प्रतिमा (स्मारक) पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराईले विसं २०५४ चैत १० मा अनावरण गरेका थिए । वरिपरि सुरक्षित पर्खाल नहुनु, छाडा गाईवस्तुको बिचरण भइरहनु र देखभाल र मर्मत नपाउनुले शहीद प्रतिमास्थलको अवस्था दयनीय बनेको मटिहानीकै बासिन्दा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल बताए ।

२०४८ सालमा जननिर्वाचित नेपाली काङ्ग्रेसको सरकार गठन भएपछि गठित शहीद केशव कोइराला स्मृति प्रतिष्ठान मटिहानीले सरकारकै आर्थिक सहयोगमा शहीद कोइरालाको प्रतिमा बनाएर अनावरण गराएको थियो । शहीद प्रतिमास्थलको मर्मत र सम्भारका लागि त्यसयता कतैबाट रकम प्राप्त हुन नसक्दा थप केही काम हुननसकेको समितिका पदाधिकारी बताउँछन् । “हामीलाई त्यतिखेर प्राप्त रकमले प्रतिमा स्थापित त ग¥यौँ”, प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका स्थानीय नेता उपेन्द्र चौधरीले भने, “गर्नुपर्ने काम धेरै भए पनि त्यसयता कतैबाट सहयोग नपाइँदा थप काम भने बढाउन सकिएन ।”

ओखलढुङ्गा जिल्लाको रातमाटे–१ को छहरे कोइरालागाउँमा विसं २००७ असार ३ गते जन्मनुभएका केशव कोइराला मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठमा अध्ययनरत रहेकै बेला मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली काङ्ग्रेसमा आबद्ध भएर आन्दोलनमा होमिएका थिए । जन्म पहाड भए पनि ज्ञानआर्जन र प्रजातान्त्रिक आन्दोलनमा मटिहानीसँग जोडिएका शहीद कोइराला महोत्तरीले चिनाएका सपूत रहेका मटिहानी–८ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय बिन्देश्वरीप्रसाद मण्डलले बताए ।

यसैबीच मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शहीद कोइरालाको सहादतस्थलको सौन्दर्यीकरण र प्रतिमास्थलको मर्मतसम्भार एवं आवश्यक अन्य कार्य गरिने जनाएका छन् । शहीद केशव कोइराला स्मृति प्रतिष्ठान र राम मावि प्रशासनसँग समन्वय गरेर दक्ष प्राविधिकको रेखदेखमा प्रतिमास्थलको काम अघि बढाइने नगरप्रमुख मण्डलले जानकारी दिए । यसका लागि तत्काल रु पाँच लाख रकम व्यवस्था गरिएको मण्डलको भनाइ छ ।