सुदूरपश्चिम

दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ ।

घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताए ।