खेलकुद

लिग विजेता मनाङलाई फिफा अध्यक्षको बधाई

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई आज पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिएको एन्फाले जनाएको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल टोलीका सदस्यका साथै सम्पूर्ण खेल प्रशंसकलाई शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।

फुटबलबाट सकारात्मक सन्देश दिन क्लब र फुटबल सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले करीब पाँच वर्षपछि नेपालमा फुटबलको लिग भएकामा खुशी व्यक्त गरेका छन् । गत असोज १३ देखि नेपालमा लिग फुटबल शुरु भई गएको पुस २४ गते सम्पन्न भएको थियो । उक्त लिग ‘ए’ डिभिजन क्लब मनाङ–मस्र्याङ्दी क्लबले जितेको थियो ।