अन्तर्राष्ट्रिय

उत्तर कोरियाली उच्च सैन्य अधिकारी वासिङटनतर्फ

वासिङटन । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ । उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन् । उहाँ उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी छन्।

उत्तर कोरियाली सैन्य अधिकारीको रुपमा भएको यो अमेरिकी भ्रमणलाई एक दुर्लभ भ्रमणका रुपमा लिइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ् उनबीच आगामी केही समयभित्रै द्विपक्षीय शिखर वार्ता हुने बताइएको छ ।

उहाँहरुबीच हुन लागेको दोस्रो शिखर वार्ताको तयारीको साथै कोरियाली प्रायद्वीपमा निःशसस्त्रिकरण र दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि उत्तर कोरियाली उच्च अधिकारीको वासिङ्टन भ्रमण हुन लागेको बताइएको छ ।चोलले शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्ने बताइएको छ । चोल र पोम्पेओबीचको भेटवार्ताको समयतालिका भने दिइएको छैन ।

पोम्पेओले बिहानको खानाको लागि किमलाई निम्ता गर्नुभएको र यसपछि दुवैजना ह्वाइट हाउसतर्फ जाने बताइएको छ । किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताका विषयमा पत्रमा चर्चा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो चरणको वार्ता निकट भविष्यमा हुन लागेको बताइएको छ ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।