प्रदेश 1

औषधालय भवन बनाउन जग्गादान

पर्वत । यहाँको एक विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा रहेको आयुर्वेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका हुन् ।

विसं २०७२ मा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवन बनाउन जग्गादान गरेका हुन् । मोदी–७ का छ जनाले औषधालय निर्माणका लागि चार रोपनी जग्गा दान गरेका हुन् । राम्जा पँधेरापारीका यदुप्रसाद पौडेलले दुई रोपनी नौ आना तीन पैसा दुई दाम, पार्वती शाहीले १५ आना दुई पैसा एक दाम, बिजुला शर्माले दुई आना एक पैसा दुई दाम र र यमनाथ पौडेल, सुननारायण पौडेल, जीवनाथ शर्मा र यदुप्रसाद पौडेलले पनि संयुक्त जग्गामध्येको चार आना जग्गा दान गर्नुभएको राम्जादेउराली आयुर्वेद औषधालयका प्रमुख कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिए ।

सञ्चालन तथा व्यवस्थापन समितिको निरन्तर प्रयास, जनप्रतिनिधिको चासो र स्थानीयवासीको सक्रियतामा संस्थाका नाममा जग्गा पास गरिएको सुवेदीले बताए । भवन मागका लागि माथिल्लो निकायसम्म पहल शुरु भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष वसन्तकुमार गुरुङले बताए । दुई जना प्राविधिक कर्मचारी र दुई अन्य कर्मचारीसहित औषधोपचार सेवा दिँदै आएको यो औषधालयमा सर्वसाधारणले सेवा लिन सहज भएको बताउँछन् । तर भवन नहुँदा व्यवस्थापनमा समस्या रहेको थियो । भवन बनेपछि औषधालयमा उपचार कक्ष, औषधि भण्डारण कक्ष, पञ्चकर्म कक्ष, पञ्चकर्म कक्ष, पूर्वकर्म कक्ष स्टिम बाथ, शिरोधारा, व्यायाम सेवा प्रदान गर्न सकिने सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

यो औषधालयमा राम्जाका अलवा, चित्रे, तिलाहार, कुश्मा नगरपालिका– ११ पकुवाका बिरामीले उपचार पाउने गरेका छन् । पेट, नशा, वाथ, पिनास, पायल्स, स्त्रीसम्बन्धी रोगको उपचारका लागि दैनिक २० जनाजति बिरामी आउने गरेको वैद्य रामप्रसाद रेग्मीले जानकारी दिए ।पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गइरहेको अवस्थामा आयुर्वेदिक उपचार सेवालाई प्रभावकारी बनाउन राम्जाका बासिन्दा कस्सिएका हुन् । पर्वतमा जिल्ला अयुर्वेदिक स्वास्थ्य केन्द्र फलेवाससहित शङ्करपोखरी, हुवास, सेतीबेनी र राम्जामा आयुर्वेदिक औषधालय सञ्चालनमा रहेका छन् ।