कर्णाली प्रदेश

कैदीबन्दीलाई अध्ययनका लागि पुस्तक

हुम्ला । कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान शुरु गरेपछि हुम्ला कारागारमा पहिलो पटक पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बता
ए ।

क्याम्पस प्रमुख रोकायाले कारागारमा पुस्तकालयको सुविधा हुँदा पुस्तक पढेर कैदीले आफ्नो जीवन र सोच बदल्न सक्ने भएकाले पुस्तक हस्तान्तरण गरेको बताए । “पुस्तक सानो हो तर यसले संसार चिनाउँछ, पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो, पुस्तकले सकारात्मक सोचका साथ राम्रो छाप छोड्नसक्छ”, रोकायाले भने ।

हस्तान्तरण गरिएका पुस्तकहरू जीवनी, साहित्यिक, कथा, दर्शन, विचारसँग सम्बन्धित छन् । रोकायाले आफूले नै लेखेका १४ पुस्तक पनि हस्तान्तरण गरेका छन् । आफूले लेखेका कथासङ्ग्रह, उपन्यास, नाटक, कविता, जीवनी पुस्तक हस्तान्तरण गरिएको छ ।

कारागारमा पुस्तकालय अभियान उपसमिति गठन भएको एक हप्ता नपुग्दै पुस्तक प्राप्त भएको छ । प्राप्त पुस्तक पढ्ने कैदीले यस्तो सहयोगलाई कहिल्यै बिर्सन नसक्ने भन्दै कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले यस्तो सहयोगलाई आफूले सकारात्मकरूपमा लिएको बताए ।

कैदीबन्दीलाई एउटा पुस्तक पढेर सकिएपछि अर्को पुस्तक पढ्न दिइने प्रहरी प्रमुख श्रेष्ठले बताए। आउँदा दिनमा अन्य व्यक्तिबाट पनि ज्ञानवद्र्धक पुस्तक प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।