लुम्बिनी

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उनले बताए । उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन् । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए ।