गण्डकी प्रदेश

गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकालाई का बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको साढे नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।

“हामीले दाताको जग्गा गाउँपालिकाको नाममा लालपुर्जा कायम गरी लिइसकेका छौँ”, अध्यक्ष पाइजाले भने, “प्राप्त भएको जग्गामा गाउँपालिकालाई आवश्यक पर्ने सुविधासम्पन्न भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष माग गर्न गाउँपालिकाबाट निर्णय भई कामसमेत अगाडि बढेको छ ।”

प्रत्येक जग्गाधनीले रु १३ हजारदेखि आठ लाखसम्मको जग्गा निःशुल्क प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । निःशुल्क प्राप्त भएको जग्गामा बनेका घरको प्रतिघरको रु दुई लाखका दरले घरधनीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि अहिले मासिक रु ३५ हजार घरभाडा तिर्दै आएको छ ।

गाउँपालिकाको कार्यालय नजिकै रहेको जग्गा खारबजारभित्र पर्दछ । लोकमार्ग आसपासको क्षेत्रमा बजारको विकास गर्न र गाउँपालिकालाई स्थायित्व प्रदान गरेर गाउँको विकास गर्न जग्गा प्रदान गरिएको जग्गादाता मोहन जिसीले बताए । “हामीले गाउँकै विकास र समृद्धि चाहेका छौँ”, उनले भने, “सबै विकासमा राज्यलाई नै पर्खनुपर्ने अवस्था अन्त्य हुनुपर्दछ ।” पुरानो खारबजारलाई प्रवद्र्धन गर्नका लागिसमेत जग्गा प्रदान गरेको जग्गादाताले बताएका छन् ।

स्थानीय सरकार आफ्नै जग्गाको कार्यालयबाट सेवासुविधा प्रदान गर्दा भाडामा खर्च हुने रकमले गाउँको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भिन्दाभिन्दै कित्तामा रहेका जग्गा अहिले गाउँपालिकाले एकमुष्ट बनाएर आफ्नो नाममा बनाइसकेको छ । गाउँपालिकाको भवन निर्माण गरेर बाँकी रहेको जग्गामा बहुउद्देश्यीय सभाहल तथा अन्य विषयगत कार्यालय राखिने बताइएको छ ।