राजनीति

‘टुटल’ र ‘पठाओ’कानूनी दायरामा आउनुपर्छ – प्रवक्ता बाँस्कोटा

काठमाडौँ । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानूनको मातहतमा नभए कानूनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “सरकारको प्रतिबन्ध लगाउने चाहना छैन, नियमअनुसार चल्नुपर्छ, यसलाई नियमन गर्नुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताएका थिए ।

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालले अहिलेको ऐनमा निजी सवारीले यात्रु बोक्न पाउने व्यवस्था नरहेको भए पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर यस्तो व्यवस्था रहने गरी ऐन संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।

उनले सेवा राम्रो भए पनि अहिलेको अबस्थामा भने यसले यात्रुको सुरक्षा, दुर्घटना बीमा लगायतका विषयमा प्रश्न उठ्ने भएकाले कानूनी दायरामा भने आउनुपर्नेमा जोड दिए । विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।