आर्थिक

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी हुन्छः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले समस्या आएको बताए ।

“अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तानी हुन्छ, काम गरेको भुक्तानी दिन बजेटको अभाव छैन”, मन्त्री डा खतिवडाले भने ।

महासङ्घ अध्यक्ष रवी सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डा खतिवडाको ध्यानाकर्षण गराउनुहुँदै समस्या समाधानका लागि आग्रह गरेको थियो ।

सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलै पिच्छे समस्या आएकोतर्फ पनि महासङ्घका प्रतिनिधिमण्डलले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराए । प्रतिनिधिमण्डलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाहरु हस्तान्तरण गरेको जानकारी गराएको छ ।

परियोजनाहरुको निर्माणाधीन अवस्थामा हस्तान्तरण गर्दा निर्माण व्यवसायीलाई निर्माण कार्य सञ्चालन गर्ने र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सृजना भएकातर्फ महासंघका अध्यक्ष सिंहले मन्त्री डा खतिवडाको ध्यानाकर्षण गराए ।

ती निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी रहेकाले परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म केन्द्रीय स्तरबाट नै भुक्तानी हुने गरी व्यवस्थापनका लागि अध्यक्ष सिंहले आग्रह गरे ।