समाचार

रुकुम पूर्वमा ५६ मुद्दा दर्ता

रुकुम । नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म रुकुम (पूर्वी भाग)को जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३६ मुद्दा फछ्र्यौट भइसकेका छन् भने २० मुद्दा चालू अवस्थामा रहेका छन् । सबैभन्दा बढी भवितव्य ज्यानका १४ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म भएका घटना र प्रहरीले गरेका कामका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएको हो । जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ज्यान मार्ने उद्योगमा छ चोरी, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योगका पाँच÷पाँच वटा घटना भएका छन् ।

सार्वजनिक अपराध र आत्महत्या मृत्युका चार÷चार वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्यानको तीन, हतियार खरखजना, विष सेवनबाट मृत्यु र बहुविवाहका दुई÷दुई, गर्भपतन, सरकारी छाप कीर्ते, आगलागी, कुटपिट पारी व्यक्ति बेपत्ता पारिएको एक÷एक वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

जिल्ला टुक्रिएदेखि हालसम्मको अवधिमा ६० जना अभियुक्त पक्राउ परेकामा सात जना बालक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सात बालकलाई सामान्य तारीखमा र धरौटीमा छाडिएको प्रहरीको भनाइ छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले २८ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए । छ जना अभियुक्त फरार रहेको उनको भनाइ छ । प्रहरीले जिल्लाको सात रोपनी जग्गामा गरिएको लागुऔषध गाँजा खेती र आठ बिघा १० कट्ठामा गरिएको अफिम खेती नष्ट गरेको छ ।