सुदूरपश्चिम

नगर बस सेवा सञ्चालन

डोटी । डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले एक कार्यक्रमबीच शुभारम्भ गरे ।

नगरपालिकाले खरीद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ ।

नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल रु ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावलीअनुसार रु ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरीद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट तीन दिनदेखि अपहरणमा परेका एक युवकलाई कैलालीको सशस्त्र प्रहरीको टोलीले भारतको पलियाबाट अपहरणमुक्त गरेको छ ।

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका–४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीको कैलालीमा तैनाथ रहेको सशस्त्र प्रहरीको गणका निमित्त गणपति विष्णुप्रसाद भट्टको टोलीले दुई घण्टाभित्रै अपहरणमुक्त गरेको सशस्त्रका प्रहरी नायब उपरीक्षक दीपक कुँवरले जानकारी दिए ।

अपहरणमुक्त भएका युवालाई स्थानीय जनप्रतिनिधिको जिम्मा लगाइएको छ । दुर्गाथली गाउँपालिका–४ का २६ वर्षीय जोशीलाई भारतीय एसएसबी ३९ नम्बर बटालिएनसँग समन्वय गरी अपहरणमुक्त गरेर जनप्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल कैलालीस्थित ३४ नम्बर गण धनगढीले जनाएको छ ।

पलिया घर भएका ५० वर्षीय रेहाना खाँ र जोशीले मिलेर जेसिभी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुबैबीच केही मतभेद भएछि खाँले जोशीलाई घुम्न जाउ भनेर पलिया पु¥याएर अपहरण गरेको सशस्त्र प्रहरीको दाबी छ ।