अन्तर्राष्ट्रिय

बंगलादेश निर्वाचन, प्रधानमन्त्री हसिनाको दललाई पूर्ण बहुमत

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन् । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ । प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्ष समेत रहनुभएकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नुहुनेछ ।
आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । विपक्षीहरुले चुनाव निष्पक्ष रुपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।

“हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं,” विपक्षी दलहरुको गठबन्धनको नेतृत्व गर्नुभएका कमल होसेनले बताए । चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडपका घटना भइरहेका थिए । सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपनि मतदानका दिन सबैभन्दा बढी हिंसात्मक घटना भएका थिए ।

मतदानका दिन अवामी लिग र बीएनपीका कार्यकर्ताबीचको झडपमा १३ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर अरु तीन जनाको मृत्यु भएको थियो । झडपका क्रममा एक प्रहरी जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बीएनपीका प्रवक्ता सइद मोजेम होसेन अलालले कूल ३०० स्थानमध्ये २२१ स्थानमा धाँधली भएको जानकारी प्राप्त भएको बताए ।

बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एस।एम। असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए । प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न भएको दाबी गरे ।