गण्डकी प्रदेश

भवन बनाउन रु २५ लाखको जग्गादान

दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गरेका छन् ।

गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गर्नुभएको हो । उनी सोही आमा समूहको अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर नजिकैको जग्गा आमा समूहको नाममा मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेशन पास गरिदिएको आमा समूहका सचिव गीता बाँस्तोलाले जानकारी दिए ।

आमा समूहको भवन नहुँदा बैठक बस्नका लागि कसैको घर वा चौर चहार्दै हिँड्नुपरेको अवस्थाको अन्त्य गर्न आफूले जग्गादान दिएको क्षेत्रीले बताए । आमा समूहको नाममा जग्गा प्राप्त भएपछि अब भवन निर्माणको काम शुरु गरिने समूहका सचिव बाँस्तोलाले जानकारी दिए । आमा समूहले देउसीभैलो खेलेर रु तीन लाख सङ्कलन गरेको छ । भवन निर्माणका लागि अपुग रकम स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समेत माग गरिने र स्थानीयवासीबाट समेत दान सङ्कलन गरिने उनले बताए ।