प्रदेश 1

जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग

गाईघाट । नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार ८१ हजार १९२ अमेरिकन डलरअर्थात् रु ९० लाख ५० हजार आर्थिक सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष राउतले बताए। जापानी दूतावासको आर्थिक सहयोगबाट नेत्रज्योति सङ्घको भवन अब तीनतले भएर निर्माण सम्पन्न हुने भएको नेत्रज्योति सङ्घ उदयपुरका प्रतिनिधि बताउँछन् । २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने नेत्रज्योति सङ्घ उदयपुरका उपाध्यक्ष सृजना दनुवारले बताएका छन् ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरेको सम्बद्ध पदाधिकारी बताउँछन् ।

त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले अब आफ्नै बृहत् नयाँ भवनमा सङ्घ सञ्चालन गर्ने भएको छ भने आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

हाल नेत्रज्योति सङ्घ उदयपुरमा उदयपुर खोटाङ, भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा लिँदै आएको नेत्रज्योति सङ्घ उदयपुरका प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताए । भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु एक करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित सङ्घको नयाँ भवन निर्माणको लागि रु तीन करोडभन्दा बढीको आर्थिक सहयोग भएको छ ।