प्रदेश 1

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

इनरुवा । नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ ।

महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सो भवनको उद्घाटन गरे । चार वर्ष अघि महासङ्घको नाममा प्राप्त भएको एक तले भवनलाई थप गर्दै दुई तले भवन निर्माण गरेको महासङ्घका सुनसरी सदस्य अजितकुमार झाले जानकारी दिए । महासङ्घ स्थापना भएको ५ दशकपछि सुनसरीले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा जिल्लाका अग्रज पत्रकारले प्रशंसा गरेका छन् ।

विसं २०७१ मा अमर सेवा समाजले सञ्चालन गर्दै आएको भवनलाई नगरपालिका, राजनीतिक दलको पहलमा पत्रकार महासङ्घको कार्यालय राख्न दिइएको थियो । दुई वटा कोठा भएको भवनमाथि अहिले सभाहल निर्माण भएको हो ।

त्यसको लागि बराहले रु १५ लाख ५० हजार सहयोग गरेको छ भने धरान उपमहानगरपालिकाबाट रु दुई लाख, सञ्चार मन्त्रालयबाट रु पाँच लाख र धरान फुटबल क्लबले रु ५० हजार सहयोग गरेको महासङ्घका कोषाध्यक्ष गोविन्द बस्नेतले बताए ।