समाचार

आईजिपी खनाल कडाः भन्छन्, ‘निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाड्दिन’

कञ्चनपुर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन् ।

महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताए । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताए ।

यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उनले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताए । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उनले भने, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।”