समाचार

२३ सडक आयोजनामा ८० प्रतिशत काम सम्पन्न भयो मन्त्रीः महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए ।

त्यस्तै ६ आयोजनाको काम पहिलो चार महीनामा शुरु हुन सकेको छैन । “रेल विभागतर्फ जयनगर–जनकपुर–कुर्था ३५ किमीमा केही महीनामा रेल सेवा शुरु हुनेछ, एक वर्षमा थप १७ किमी रेलमार्ग तयार गरी बिजुलपुरासम्म ५२ किमी दूरीमा रेल गुड्नेछ, दुई वर्षभित्र बर्दिवास र चार वर्षसम्म निजगढसम्म रेल गुड्नेछ”,उनले भने ।

पुस २६ सम्म भारतबाट कहिलेसम्म रेल आउने भन्ने प्रष्ट हुने मन्त्रालयले जनाएको छ । नेपाली झण्डासहितको रेल नै गुडाउने निर्णय यसअघि नै भइसकेको सो अवसरमा मन्त्री महासेठले जानकारी दिए । काठमाडौँ–वीरगञ्ज रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भारतीय परामर्शदाताबाट र केरुङ–काठमाडौँको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइरहेको मन्त्रालयले जनाएको छ । शहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र र ३०० वटा विद्युतीय बस खरीद गर्ने नीतिगत निर्णय मन्त्रिपरिषद्बाट भएको मन्त्री महासेठले सुनाए ।

सो अवसरमा १६ यातायात व्यवस्था कार्यालय र १३ सेवा कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ । यातायातलाई अझ व्यवस्थित गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको छ । प्राधिकरण बनेपछि सार्वजनिक यातायात सञ्चालनको जिम्मेवारी दिइनेछ । विभागलाई नीतिगत काम गर्ने अख्तियार दिइने उनले बताए । यातायात समितिमार्फत सञ्चालन भइरहेका सवारीलाई कम्पनीमा लैजान केही कानूनी व्यवस्थाले अवरोध खडा गरेकाले संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

ती कानून संसदको चालू अधिवेशनबाट नै संशोधन हुने विश्वास मन्त्री महासेठले व्यक्त गरे । मन्त्रालयका सचिव मधुसूदन अधिकारी र सहसचिव एवं प्रवक्ता शिवहरि सापकोटाले पहिलो चार महीनामा भएका कामका बारेमा जानकारी गराएका थिए ।