राजनीति

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याए । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हुँदै जाने प्रक्रिया हो”, उनले भने ।

नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गरे । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उनले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गरे ।

पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उनले जानकारी दिए । उनले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन आग्रह गरे ।