पर्यटन/संस्कृति

ऐतिहासिक मकवानपुर गढीमा पर्यटकको भीड

हेटौँडा । ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ । मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको समाचार राष्ट्रि«य समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । आज मात्रै ५० भन्दा बढी समूहलाई वनभोजमा सघाएको स्थानीय व्यवसायी राजीव तामाङले बताए ।

शनिबार पुल्चोक इञ्जिनीयरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको एक टोलीले ऐतिहासिक मकवानपुरगढी क्षेत्रकोे स्थलगत अध्ययन गरेको छ । प्राध्यापक डा सुधा श्रेष्ठको नेतृत्वमा उपप्राध्यापक अजयचन्द्र लालसहितको विद्यार्थी टोलीले आज ऐतिहासिक किल्लाको अध्ययन गरेको हो । इञ्जिनीयरिङ कलेजका पाँचौँ वर्षका २४ विद्यार्थी त्यहाँको इतिहाससहित गढी क्षेत्र संरक्षण र वरिपरिका क्षेत्रको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान र लागत अनुमान गर्न आएका हुन् ।

गढीआसपासको क्षेत्र संरक्षणका लागि गर्न सकिने प्रयासबारे समूहले अध्ययन थालेको छ । टोलीले तीन दिन गढीक्षेत्रमा रहेर त्यहाँको भूगोल, इतिहास, वास्तुकला आदिबारे अध्ययन गर्नेछ । टोेलीलाई मकवानपुर गढी गाउँपालिकाले समेत अध्ययन कार्यमा सघाएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । टोलीलाई इतिहासविद् केदारप्रसाद न्यौपानेले इतिहास र अन्य संरचनाबारे स्थलगत जानकारी गराएका थिए ।