पर्यटन/संस्कृति

थारु समुदायको साँस्कृतिक पहिचानका लागि विराटनगरमा माघी महोत्सव हुने

विराटनगर । थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तिको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गरिने बताए। विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको कक्ष रहने पत्रकार सम्मेलनमा बताइएको छ ।

महोत्सवमा थारु जातिको वेशभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गरिने सभाका अध्यक्ष प्रदीपभगत थारुले बताउनुभयो । महोत्सवमा थारु जातिको लोप हुन लागेको आगो ताप्ने चुलोे, वर्षी, धान राख्ने भकारी, मौडा, कोठीलगायत सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

थारु समुदायका देशभरि बेग्लै वेशभूषा र रहनसहन हुने गर्दछ । त्यही वेशभूषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृत्तचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ । थारु जातिको वेषभूषा, पहिरन, गरगहना, लवाइखवाइ, मौलिक खाना र हस्तकलाको प्रदर्शनबाट प्रदेश नं १ का थारु जातिबीच अपनत्वभाव वृद्धि गर्न तथा सांस्कृतिक महत्व र आन्तरिक पर्यटनको वृद्धिका लागि महोत्सव गर्न लागिएको बताइएको छ । प्रदर्शनीमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ ।