सुदूरपश्चिम

कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै

डोटी । सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ ।

यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ । डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको डोटी बोगटान गाउँपालिका सिमीचौरका स्थानीयवासी हेमबादुर बुढाले बताए।

आज राति मीठा खानेकुरा पकाएर खुवाउने, रातभरि जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । यति मात्र नभई सुदूरपश्चिमभरिमा आजको रातलाई पन्नरी रातसमेत भन्ने चलन छ । आजको रातिमा तरुल, तेकुना, फर्सी, पिँडालु, सख्खरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको शिखर नगरपालिका–१ कप्पलेकीका स्थानीयवासी अनिल शाहीले बताए ।

पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानीयवासी दिनभरि जङ्गलमा गएर तरुललगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन् । पुस १५ देखि दिनहरु बिस्तारै लम्बिदै जाने किंवदन्ती रहेको छ । आज राति खानका लागि यहाँका बजारहरुमा विभिन्न जङ्गली कन्दमूल बिक्री वितरण गर्नेहरुको बिहानदेखि घुइँचो लागेको दीपायल पिपल्लाका स्थानीय व्यापारी लेकबहादुर देउवाले बताए ।