खेलकुद

वल्र्ड च्याम्पियन विजेता महर्जन सम्मानित

काठमाडौँ । दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले आज नगदसहित सम्मान गरेको छ ।

शुभताराको २० औँ वार्षिक खेलकूद दिवसका समापन अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई रु ५० हजारसहित सम्मानपत्रबाट सम्मान गरे ।

थाइल्याण्डको चाङमइमा गएको मङ्सिर २५ देखि पुस २ गतेसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एशियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।

यसअघि महर्जनलाई थाइल्याण्डस्थित नेपाली दूतावास तथा नेपाल शारीरिक सुगठन सङ्घले क्रमशः रु दुई लाख ५० हजार र रु तीन लाखद्वारा सम्मान गरिसकेको छ ।