खेलकुद

लिभरपुललाई आर्सनलको चुनौती

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, दोस्रो स्थानको टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

शनिबार लिग लिडर लिभरपुलले घरेलु मैदानमा आर्सनलसंग खेल्नेछ । लिभरपुल र आर्सनलबीचको खेल राति ११:१५ मा सुरु हुनेछ । र, घरेलु मैदानमा आर्सनलको स्वागत गर्दा लिभरपुलको लक्ष्य जितसहित उपाधि होड बलियो बनाउनु हुनेछ ।

लिगमा लिभरपुल दोस्रो स्थानको टोटेनहमभन्दा ६ अंकले अघि छ । लिभरपुललाई आज त्यो अग्रता कायम राख्ने मौका हुनेछ । दोस्रो स्थानको टोटनहम पराजित भएमा लिभरपुल अग्रता ९ हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले ५१ अंक जोडेको छ ।

यता,पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई स्तब्ध बनाउदै शीर्ष चारमा पुग्ने लक्ष्यमा हुनेछ । आर्सनलले ३८ जोडेको छ । लिभरपुललाई हराए आर्सनल चेल्सीलाई पछि पार्दै चौथो स्थानमा उक्लनेछ ।

यस्तै दोस्रो स्थानको टोटेनहमले घरेलु मैदानमा वुल्भ्ससंग खेल्दैछ ।  टोटेनहमको  मैदानमा हुने खेल ८:४५ मा सुरु हुनेछ ।

वुल्भ्सविरुद्ध मैदान उत्रदा टोटेनहम सहज जितसहित लिभरपुलसंगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । टोटेनहमको  अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत अन्य खेलमा ब्राइटन र एभर्टन, फुलहम र हडर्सफिल्ड तथा लेष्टर सिटी र कार्डिफ सिटीबीच खेल हुनेछ ।  त्यस्तै वाट्फोर्डले न्युकासलको सामना  गर्नेछ ।