पत्रपत्रिका

भेरी बबई आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सकियो

काठमाडौँ । भेरी बबई डाइभर्सनको बहुउद्देश्यीय आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

गोरखापत्र दैनिक लेख्छ–आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखाएको यो भाग अनुमान गरेभन्दा कम र समयभन्दा अगावै सम्पन्न हुन लागेको दाबी गरिएको छ ।

भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ । अहिलेका गतिमा काम भएमा आगामी चैत, वैशाखभित्र सुरुङको पूरा हुने दावी आयोजनाले गरेको छ ।

आयोजना प्रमुख सञ्जिव बरालका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा यो काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार गरी १० किलोमिटर सुरुङ खनिसकिएको छ ।

हालसम्मको कार्यप्रगति हेर्दा यो आयोजनामा सुरुङतर्फ लागत अनुमानभन्दा कम लागतमा र अनुमानित समय अगावै काम सम्पन्न गर्न सकिने उनको दाबी छ ।