खेलकुद

टेबलटेनिस – छत्र र मनीषालाई स्वर्णपदक

काठमाडौं । प्रथम पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिपअन्तर्गत साउण्ड टेबलटेनिस प्रतियोगितामा छत्र तामाङ र मनीषा गिरीले स्वर्णपदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुष फाइनल खेलमा छत्रले अश्विन अधिकारीलाई ११–७ र ११–७ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेको हो । युवराज लामा र प्रेम लिम्बू संयुक्त रुपमा तेश्रो भए ।

महिलाको प्रतिस्पर्धात्मक फाइनलमा मनीषाले स्मृति कोइरालालाई १४–१२, ८–११ र ११–४ को सेटमा हराइन् । सिर्जना चौधरी र जल्शा सापकोटाले तेश्रो स्थानमा चित्त बुझाए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु तीन हजार, रु दुई हजार र रु एक/एक हजार पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । राखेपको आयोजना तथा नेपाल दृष्टिविहीन टेबलटेनिस सङ्घको व्यवस्थापनमा भएको एकदिने उक्त प्रतियोगितामा २५ खेलाडीले दुई एकल स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।