समाचार

हुलाकी राजमार्ग नौ किलोमिटर कालोपत्रे

लमही । हुलाकी राजमार्ग अन्तर्गत दाङको लमही–कोइलावास सडक खण्डमा नौ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । गएको ३० महीनामा ३३ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपनि काम शुरु भएको डेढवर्षसम्म नौ किलोमिटर मात्रै सडक कालोपत्रे भएको इञ्जिनीयर मुकेश शाहले बताए।

“तीस महीनामा काम सक्ने गरी सम्झौता भएको हो, डेढवर्ष वितिसक्यो उनले भने अब एक वर्ष मात्रै बाँकी छ, तर काम गर्नुपर्ने धेरै छ ।” सडकका संरचना नहटाउँदा काममा ढिलाइ भएको उनको भनाइ छ ।

अहिले लमहीदेखि नौ किलोमिटर सडकमा रहेका विद्युत्को पोल, तार, खानेपानीका पाइप, नेटका तार नहटाउँदा काम अघि बढउन समस्या भएको उहाको भनाइ छ । यी संचरना हटाए दुई महीनाभित्रै त्यस क्षेत्रको कालोपत्रे गर्ने काम पूरा गर्ने उनको भनाइ छ । सडक निर्माण कामलाई तीव्रता दिन दैनिक तीनसय मजदुरले राति १० बजेसम्म काम गरेकाले दैनिक ५÷६ मिटर सडक कालोपत्रे गर्ने गरेको भएपनि बीचबीचमा हुने अवरोधले ढिलाइ भएको उहाँको भनाइ थियो ।

उनका अनुसार अहिले पाँच किलोमिटर सडक चौंडा बनाउने काम भइरहेको छ । सबै कालोपत्रे गर्ने काम यही पुस महीनाभित्रै सक्नुपर्ने भए पनि सडकका संरचना, मुआब्जा वितरण जस्ता कारणले कामले गति लिन नसकेको उनको भनाइ थियो । अहिले बीचबीचमा कलवर्ट, पर्खाल, कज्वे निर्माणको काम जारी रहेको उनले बताए ।

लमही गढवासम्म ८ किलोमिटर क्षेत्रमा बसोवास गर्ने नागरिकलाई मुआब्जा वितरणमा ढिलाइ हुँदा पनि काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । दाङ खण्डमा कालोपत्रे गर्न करीब रु ६६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । कालीका कुमार जेभिले निर्माणको जिम्मा लिएको छ । हुलाकी सडकको चौडाइ सात मिटर हुने उनको भनाइ छ ।