स्वास्थ्य

अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

रोल्पा । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ ।

जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ । ७२ वटा वडा रहेको रोल्पाका २२ वटा वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको विशेष परिचालन गरी शतप्रतिशत प्रसूतिलाई संस्थागत गर्ने गरी पहल थालेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले जानकारी दिए ।

जटिल प्रसूतिका लागि जिल्लामा शल्यक्रिया सेवासमेत सञ्चालन गरिएको छ । जटिल प्रसूति सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा ४१ जटिल प्रसूति सेवा लिएकामा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो सङ्ख्या २० पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख डा आचार्यले जानकारी दिए ।

जटिल प्रसूतिको शल्यक्रिया गरेका सुत्केरी महिलालाई अनुकूल हुने कोठाको अभाव रहेका कारण केही समस्या देखिने गरेको बताइन्छ । “एकैपटक धेरै शल्यक्रिया गर्नुपर्दा समस्या आउने गरे पनि आन्तरिक स्रोत परिचालन गरेर व्यवस्थापन गरेका छौँ”, डा आचार्यले भने ।

‘‘आमाका लागि खासै समस्या नभए पनि एसएनसियु स्थापना नहुँदा नवजात शिशुलाई असामान्य अवस्था आए उपचार गर्न समस्या हुने गरेको छ’’ डा आचार्यले भने । “एसएनसियु स्थापनाको पहल गरिरहेका छौँ”, डा आचार्यले भने । “केही पूर्वाधार थप तथा एसएनसियुको स्थापना भए जिल्ला अस्पतालबाटै जटिल प्रसूतिको सबै काम हुन्छ”, डा आचार्यले भने ।

जिल्लामा प्रोटोकलअनुसार आर्थिक वर्ष २०७४÷७५ मा चारपटक गर्भवती जाँच गर्ने गर्भवतीको सङ्ख्या ४८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा यो सङ्ख्या ४४ प्रतिशत मात्र रहेको थियो । गर्भवती भएको कुनै पनि समयमा स्वास्थ्य संस्थामा भेट गर्ने गर्भवतीको सङ्ख्या भने शतप्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ९० प्रतिशत थियो ।