समाचार

विद्यालय निर्माणका लागि जापानी सहयोग

काठमाडौँँ । धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गरे ।

जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको शिक्षा, सडकलगायत विकास निर्माणका क्षेत्रमा जापान सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

राजदूत साइगोले भवन निर्माणपछि गुणस्तरीय शिक्षामा मद्दत पुग्ने उल्लेख गरे । चारसय पच्चिस विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० सम्म विद्यार्थी बसेर कष्टका साथ अध्ययन गर्दै आएकाले भवन निर्माणका लागि पहल गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।