खेलकुद

ए डिभिजन लिग: दोस्रो स्थानको दाउमा थ्रीस्टार

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार थ्रीस्टारले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दैछ।

लिगमा तेस्रो चरणमा मनाङसँग पराजित भएयता लिगको शीर्ष स्थान गुमाएको थ्रीस्टार अब दोस्रो स्थानका लागि मैदानमा रहनेछ। लिगको उपाधि मनाङले जितिसकेको छ। १० खेलमा सात जित र एक हार दुई बराबरी खेलेको थ्रीस्टार २३ अंकसहित लिगमा तेस्रो स्थानमा रहेको छ।

संकटा २५ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपाल पुलिससँग थ्रीस्टार पराजित भए उसको लक्ष्यमा ठूलो धक्का लाग्नेछ। यता नेपाल पुलिस क्लब लिगमा शीर्ष पाँच टिममा स्थान बनाउने प्रयासमा हुनेछ। उसले अहिलेसम्म खेलेका १० खेलमा चार खेलमा जित र समान तीन खेलमा हार र बराबरीको नतिजा निकालेको छ।

लिगमा मनाङसँग मात्र पराजित भएको थ्रीस्टारको सोही हारले उपाधि यात्रा समाप्त भएको थियो। शुक्रबार नै त्रिभुवन आर्मीले सरस्वती क्लबसँग खेल्नेछ। लिगको चौथो स्थानमा रहेको आर्मीले १० मध्ये पाँच खेलमा जित निकालेको छ भने दुई हार र तीन बराबरी खेलेको छ।

आर्मीको लक्ष्यपछि शीर्ष तीनमा स्थान बनाउने नै हुनेछ। यता सरस्वतीले लिगमा तीन खेलमा मात्र जित निकालेको छ।