बाग्मती

एक सय भन्दा बढी हात्तीलाई वनभोज खुवाइयो

चितवन। चितवनको सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई बिहीबार वनभोज खुवाइएको छ।

महोत्सव स्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १ सय भन्दा बढी हात्तीलाई वनभोज खुवाइएको हो। हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए।

महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले बताए।

धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता बढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उनको भनाइ थियो।

हात्ती महोत्सवका अवसरमा युनाइटेड हात्ती सहकारी संस्था, ह्याप्पी हाउस, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चितवन राष्ट्रिय निकुञ्जका हात्तीलाई वनभोज खुवाइएको हो।

हात्ती महोत्सवको अवसरमा सौराहामा हात्तीका छावाबीच फुटबल, हात्ती पोलो, हात्ती दौड, हात्ती शृङ्गारलगायतका विविध कार्यक्रम गरिँदैछन्।

महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन्। महोत्सव पुस १५ सम्म चल्नेछ।