राजनीति

अध्यक्ष ओलीलाई नेता रावलको प्रश्न -बैठकमा उठेका धेरै विषय सम्बोधन नै नगरी अघि बढ्ने ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकार र पार्टी ठीक ढंगले चलिरहेको भन्दै स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको बचाउ गरेका छन् ।

बिहविार बसेको नेकपा स्थायी कमिटीको बैठकमा केही नेताले अध्यक्षको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएपछि प्रतिवेदन पारित गर्ने प्रधानमन्त्री ओलीको प्रयास असफल भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन मूलत सही रहेको विष्लेषण गरी पारित गर्न प्रस्ताव राखेका थिए । नेता भीम रावल र घनश्याम भुसालले बैठकमै उठेर प्रतिवाद समेत गरे । अन्य नेताले पनि ओलीको जवाफ चित्त नबुझाएपछि बैठक शुक्रबार बिहान (आज) सम्मलाई स्थगित भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका विषयमा कुनै सम्झौता नगरिने ओलीले बताए । पार्टी एकता ऐतिहासिक भएकाले यसका उपलब्धि जोगाएर अघि बढ्नुपर्ने उनको धारणा थियो । एकतासम्बन्धी बाँकी काम पूरा गर्न पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले अहिलेसम्मका निर्णय सही नै भएको र अबका निर्णयमा अझ फराकिलो दायराबाट अघि बढ्ने बताए ।

स्थायी कमिटी सदस्य भिम रावलले विभिन्न राजनीतिक नियुक्ति, एसिया प्यासिफिक सम्मेलन, सचिवालयको एकलौटी भएको लगायत विषय उठाएका थिए । यिनमा ओलीले खासै जवाफ दिएनन् । उनले ‘सदस्यहरूबाट आएका सुझाव मनन गरौंला, यो प्रतिवेदन पारित गरौं’ भनेपछि भुसाल र रावलले प्रतिवाद गरेका थिए । भुसालले सबै विषयलाई छुट्टाछुट्टै एजेन्डा बनाएर छलफल गर्ने यसअघिको प्रतिबद्धता पालना नभएको भन्दै आपत्ति जनाए ।

बैठक सुरु भएकै दिन अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘अहिले राजनीतिक प्रतिवेदन पेस गरौं, त्यसपछि नेताहरुले उठाएका सबै विषयलाई एजेण्डा बनाएर छलफल गरौँला’ भनेका थिए । प्रतिवेदनमाथि उठेको प्रश्न निरुपण नगरी पारित गर्न नमिल्ने भन्दै भुसालले आपत्ति जनाएका थिए ।

अर्का नेता भिम रावलले ‘बैठकमा उठेका धेरै विषय सम्बोधन नै नगरी अघि बढ्ने ?’ भनी ओलीमाथि प्रश्न गरे । उनले यस्तै अवस्थामा प्रतिवेदन पारित भए प्रतिवाद गर्ने र नोटअफ डिसेन्ट लेख्ने चेतावनी दिए ।