खेलकुद

इतिहास रच्दै मनाङ २ खेल अघि नै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ । सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङ विजेता बन्नेछ ।

बिहिबार मनाङको जितमा विशाल राईले महत्वपूर्ण भूमिका खेले। उनी तीन वटै गोलका लागि समावेश भए। उनले सुरुवाती गोल गर्दा उनकै पासमा २ खेलाडीले गोल गरे। संकटाले एक सान्त्वना गोल फर्कायो।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरी टुंगिने अनुमान गरिएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा मनाङका विशाल राईले कर्णर प्रहार गरेका थिए।

उक्त बल संकटाका गोल रक्षकले रोक्न खोज्दा डिफ्लेक्टहुँदै गोलमा परिणत भएको थियो। त्यसपछि खेलको ८१ औ मिनेटमा फेरी विशाल राईको कर्णर प्रहारमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले गोलगर्दैै टोलीलाई २–० को अग्रता दिलाए।

खेल सकिँन ३ मिनेटबाँकी रहँदा फेरी विशाल राईको क्रस पासमा एडिलजा सोमिडेले गोल गर्न सफल भए। खेल ३–० मै सकिने अनुमान गरिएको थियो।

तर खेलको ८९ औं मिनेटमा संकटा एक गोल फर्काउन सफल भयो। संकटाका लागि सेन्ड्रिक अबाले गोल गरेका थिए। मनाङले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० गरि छ पटक लिगको उपाधि उचालेको थियो।

मनाङले लिगको उपाधि मात्रै जितेन एउटा अनौठो इतिहास पनि रचेको छ । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभई लिगको उपाधि जितेको हो ।