पु.समाचार

वार्ता टोलीको भूमिका महत्वपूर्णः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

आज गृह मन्त्रालयमा वार्ता टोलीले तयार पारेको प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद समेत दिए । आगामी दिनमा वार्ता गर्नुपरे आवश्यकताअनुसार यही टोलीको सहयोग लिइने गृहमन्त्रीको भनाइ थियो ।

संयोजक पाण्डेले सरकारले दिएको जिम्मेवारीअनुरुप आफूहरुले आन्दोलनरत पक्षहरुसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिनुभयो । वार्ता टोलीले आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गरेको थियो ।

वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको थियो । गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको टोलीले जनाएको छ ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेको टोलीको निष्कर्ष छ । संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ताटोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैँ समाप्त भइसकेको जनाइएको छ ।