पर्यटन/संस्कृति

पर्यटकीय महत्वको केचनकवल

भद्रपुर । नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ ।

समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल । राजवंशीले ‘झिल’लाई केचना भन्छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

२०४४ सालमा राजा वीरेन्द्र हेलिकप्टर लिएर यहाँ आउँदा सिमेन्टको एउटा स्तम्भ अनावरण भएको थियो । त्यही स्तम्भ नै आज होचो ठाउँको चिनो भएको छ । पुरानो नाम ‘छट झिल’लाई राजा वीरेन्द्रले नै ‘कचनकवल’ भनी नयाँ नामाकरण गरिदिएको हुनसक्ने स्थानीयको भनाइ छ ।

भद्रपुर एयरपोर्टबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान सडक र यातायातको सुविधा भनेजस्तो सहज छैन । सडकको मात्र असुविधा होइन केचनकवलमै होटल र लजको राम्रो प्रबन्धसमेत हुन सकेको छैन । “स्तम्भ जीर्ण भइसकेको छ, नेपालकै होचो स्थान केचनालाई राष्ट्रियस्तरबाट पूर्वाधार विकासमा सहयोग हुनुपर्ने हो भएन”, अध्यक्ष आलम भन्नहुन्छ, “आन्तरिक आयस्रोत समेत पर्याप्त नभएको हाम्रो गाउँपालिकाबाट स्तम्भ मर्मतका लागि रु १४ लाख बजेट विनियोजन गरेका छौँ ।”

पुस माघसम्म केचनकवल स्तम्भको छेउमा उभिएर सगरमाथा र कञ्चनजङ्गा हिमाल छर्लङ्गै देख्न सकिने हुँदा यहाँ भ्यूटावर बनाउने गुरुयोजना रहेको अध्यक्ष आलमले बताए।

पर्यटक भित्र्याउन सडक अति महत्वपूर्ण भएको भन्दै यसै आर्थिक वर्षमा ग्राभेल गर्नका लागि गाउँपालिकाले रु ५५ लाख बजेट छुट्याएको छ । बनियानीदेखि स्तम्भस्थलसम्म पुग्ने सडकसमेत राम्रो नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढाउन नसकिएको उनले बताए।

उनले पाँच वर्षभित्रमा भद्रपुर विमानस्थलबाट केचनकवलसम्म पुग्नका लागि कालोपत्रे बाटो निर्माण गर्नुका साथै होटल, घुमफिरस्थल र सुरक्षाको आकर्षक प्रबन्ध गर्ने बताए ।

“समृद्धिको प्रमुख आधार बन्न सक्ने केचनकवलको बृहत्तर प्रवद्र्धन गर्ने योजना छ”, अध्यक्ष आलमले भने, “पर्यटक घुम्न लायक बनाउनुको विकल्प छैन, रिङरोडको निर्माण र होमस्टेको समेत व्यवस्था गर्ने सोच बनाएको छु ।”

प्रदेश नम्बर १ सांसद वसन्त बानियाँले सगरमाथाको एक झलक नजिकबाट हेर्नैका लागि विश्वका कुना कुनाबाट पर्यटक नाम्चे ओइरिने बताउँदै ‘मुलुककै होचो’ भूमि भनेर ‘कचनकवल’ हेर्नैका लागि पर्यटकको आकर्षक गन्तव्य बनाउन प्रदेश सरकार लागि पर्ने बताए ।

उनले प्रदेश नम्बर १ को मुख्य लक्ष्य नै कृषि र पर्यटनको सम्वद्र्धन, प्रवद्र्धन गर्ने भएको हुँदा पर्यटकीयस्थलको खोजी गरी त्यसको सम्भाव्यताको अध्ययन र अनुसन्धान गर्ने काम शुरु भइसकेको बताए । केचनाकवलको एकीकृत विकास लागि चालू आवमा प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको बताए ।