खेलकुद

ए’ डिजिभन लिग च्यासल र एपिएफले अङ्क बाँडे

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।

त्यस्तै खेलको ४१औँ मिनेटमा पाएको पेनाल्टीलाई एपिएफका खेलाडी सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे । एपिएफका हरि कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।

खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो । एपिएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।

खेलको ७७औँ मिनेटदेखि च्यासल १० खेलाडीमा सीमित बनेको थियो । च्यासलका गौरव बुढाथोकीले दुई वटा पहेलो कार्डसहित रातो कार्ड पाएपछि च्यासल १० खेलाडी सीमित बनेको हो ।

खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए । यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अङ्क जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अङ्क भएको छ ।