समाचार

रामग्रामको पाँँच गाउँलाई नमूना गाउँका रुपमा विकास गरिने

नवलपरासी । पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका पाँँच गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको छ ।

रामग्राम नगरपालिकाअन्तर्गत वडा नं ७ को उजैनी, ९ को जोकवार, १० को लकङ्हवा र १२ को कुनवार गाउँलाई आगामी दुई वर्षभित्रमा नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि बढाएको हो । पाँच गाउँमा उच्चस्तरीय पक्की सडक, सबै सडक छेउमा ढल निकासका लागि नालाको व्यवस्था, विद्युतीकरण, खानेपानी, इन्टरनेट, शौचालय एवंं सार्वजनिक स्थानमा हरियालीको व्यवस्था गर्ने गरी योजना ल्याइएको रामग्राम नगरपालिकाले जनाएको छ ।

जिल्लाको मात्र होइन देशकै नमूना गाउँको रुपमा परिचय बन्ने गरी रामग्राम नगरपालिकाले नमूना गाउँको विकास कार्यका लागि काम अघि बढाएको नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए।

२०७७ साल असार मसान्तभित्र काम सम्पन्न हुने गरी भौतिक निर्माणका कार्य शुरु भइसकेका छन् । नमूना गाउँका रुपमा विकास गरिने पाँच गाउँ उजैनी, जोकवार, रानीपाकड, लकवा एवं कुनवारमा विभिन्न प्रकारका सडकको निर्माण शुरु भएको नगरपालिकाले जनाएको छ ।

यसै आर्थिक वर्षको मङ्सिरदेखि काम शुरु भइसकेका छन् । आगामी दुई वर्षभित्र नमूना गाउँभित्रका साना ठूला गरी करीब एक दर्जन सडक निर्माण गर्ने योजना रहेको छ । सडक विस्तार र निर्माण नमूना गाउँका सम्पूर्ण क्षेत्रमा सडक बत्तीको समेत व्यवस्थापन गरिएका छन् ।

यसैगरी नमूना गाउँको ठाउँ ठाउँमा खानेपानी, प्रतीक्षालय एवं चौताराको निर्माणले नमूना गाउँ साच्चै नमूना बनाउने योजनाका साथ काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

नमूना गाउँको सडक, ढल र पार्क निर्माण सम्पन्नका लागि दिया एमक जेवी निर्माण कम्पनीलाई रु ३५ करोडमा ठेक्का दिइसकेकोे नगर कार्यालयले जनाएको छ । साढे चार मिटरदेखि सात मिटर चौडाइसम्मका विभिन्न सडकको निर्माण, विस्तार एवं मर्मतको काम शुरु गरिएको छ ।

यसमा लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारको शहरी विकास मन्त्रालयको रहेको नगरप्रमुख गुप्ताले जानकारी दिए। नगरप्रमुख गुप्ताका अनुसार रामग्राम नगरपालिकामा शहरी विकास मन्त्रालयको रकमबाट सञ्चालित दुई वटा शहरी सडक विस्तार, परासीको साप्ताहिक हाटबजार र नमूना गाउँ विकास गरी चार वटा परियोजना सञ्चालनमा रहेका छन् ।