स्वास्थ्य

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

राँझा । बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाको आधाभन्दा धेरै गर्भवतीले सहजरुपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए ।

छ वटा वडामध्ये गाउँपालिका–३ इन्द्रपुर, वडा नं ४ खजुराखुद्र्ध, र वडा नं ५ बेलहरीस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन हुन सकेको छैन । गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले प्रसूति केन्द्र भवन र स्रोत साधनको अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताए । प्रसूति केन्द्र नहुँदा मातृशिशु सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।

इन्द्रपुर स्वास्थ्यचौकीमा भवन निर्माण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन । वडा कार्यालयमार्फत पटक पटक माग पेश गरे पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी प्रमुख गगनसिंह साउँदले जानकारी दिए । खजुराखुर्दमा भवनसमेत छैन ।

बेलहरी स्वास्थ्यचौकीमा प्रसूति केन्द्रको भवन बनेको चार वर्ष भयो तर सञ्चालनमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्रको भवन निर्माण भए पनि झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको स्वास्थ्यचौकी प्रमुख टामलाल बेल्वासेको भनाइ छ ।