प्रदेश 2

हात्ती आतङ्कबाट पीडित

राजविराज । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् ।

जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने हात्तीका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरी हनुमाननगर कङ्कालनी नगरपालिका–३ निवासी सोभितलाल पघैया यादवले गुनासो गर्नुभयो । हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै लगाएको गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उहाँले बताउनुभयो । ती हात्तीले गाउँ पसेर बाली खाने र कुल्चेर बाली कुल्चेर नष्ट गर्ने गरेको पाइएको छ ।

दुई दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट तीन समूहमा आएको हातीले सप्तरीको कञ्चनरुप १२ सीतापुरमा तीन घर भत्काएर अन्नपात खानुका साथै घरमा रहेको खाट र भाडाकुँडा तोडफोड गर्दा रु एक लाखौँको क्षति भएको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिनुभयो । सो हात्तीले दर्जनौँ किसानले खेतमा लगाएको गहुँ बाली र केरा कुल्चेर नोक्सान गरेका छन् । “जब रात पर्छ तब गाउँलेमा डर र त्रास उत्पन्न हुन्छ, कुनबेला जङ्गलबाट हात्ती आएर जीउधनको क्षति हुन्छ त्यसको टुङ्गो छैन,” स्थानीय होमबहादुर कार्कीको भनाइ छ । त्यस्तै सप्तरीको रुपनी गाउँपालिकामा दुई महीनादेखि हात्तीले बितन्डा मच्याएर जनजीवन आतङ्कित बनाउँदासमेत सम्बन्धित निकाय बेखवर रहेको स्थानीयवासीको आरोप छ ।

हात्तीको समूहले बस्ती पसेर रुपनी गाउँपालिका–६ का हहुरी चौधरी, बमबहादुर राउत र रक्तमाला देवीको घर भत्काएर क्षति गरेको आचार्यले बताउनुभयो । हात्तीले घर भत्काउँदा रुपनी गाउँपालिका–६ का कामीसिंह तामाङ, वडा नम्बर २ का जमुना तामाङलगायतका दजनाँै घरपरिवार विचल्लीमा परेका छन् । उनीहरु छिमेकी र आफन्तकोमा शरण लिएर बस्दै आएका छन् ।

जङ्गली जनावर दिनभरि गाउँ नजिकको जङ्गलमा बस्छन् । राति बस्ती पसेर घर भत्काउछन् । किसानले लगाएको अन्नबालीसमेत नष्ट गर्छ । तर हात्ती नियन्त्रणमा कुनै पनि निकायको ध्यान पुग्न नसकेको स्थानीवासीको गुनासो छ ।

पटक पटक हात्ती आतङ्कले सप्तरीको उत्तरी क्षेत्रका बासिन्दाले समस्या झेल्दै आएका छन् । हात्ती आतङ्कले जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर र घोघनपुरसहितका ठाउँमा दिनहुँ हात्ती आउने र घर तोडफोड गरी आतङ्कित गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।यसैबीच दैनिक हुने हात्ती आतङ्क नियन्त्रण नभए आन्दोलनमा जान सकिने स्थानीयवासीको भनाइ छ ।