गण्डकी प्रदेश

जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका हुन् ।

राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्तावापत प्राप्त भएको रु सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिए ।

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु एक लाख पचास हजार सहयोग गरि सक्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए ।

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०÷५० हजार सहयोग गरेका छन् । गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताए ।

विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ ।

तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उहाँले कोषमा जम्मा गरेका छन् । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए ।

भारतीय गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन पुनले सेवानिवृत्त भएपछि म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका छन् ।