राजनीति

ओली सरकार गरीब र निमुखा जनताको भावना बुझ्न असफल– काँग्रेस नेता गिरी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले नेपाली काङ्ग्रेसमा जागरण आवश्यक भएको बताएका छन् ।

नेपाली काङ्ग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “पार्टीलाई बलियो बनाउन तथा जनअपेक्षाअनुरुपको सामाजिक रुपान्तरणका लागि पार्टीले आर्थिक, सामाजिक तथा राजनीतिक नीति बनाउँदा गम्भीर हुनु आवश्यक छ ।”

नेता गिरीले पार्टीले विगतमा गरेका गल्ती कमजोरीको समीक्षा गर्दै अघि बढ्नसके नेपाली जनताले आगामी निर्वाचनमा पुनः काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे ।

विकास र समृद्धि दिने भन्दै निर्वाचित सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गर्दै उनले सरकारले गरीब र निमुखा जनताको भावना बुझ्न नसकेको आरोप लगाए ।

नेता गिरीले बिपी कोइरालाले देखाएको बाटोमा काङ्ग्रेस हिँड्न नसक्दा पार्टी कमजोर बनेको बताउँदै बिपीको बाटोमा हिँडेको भए अहिले नेपालले विश्वलाई नै राजनीतिक पाठ सिकाउन सक्नेमा जोड दिए ।

कर वृद्धि, महङ्गी, भ्रष्टाचार र राज्यका हरेक तहमा राजनीतिकरण हुँदा देशका सर्वसाधारणले न्याय नपाएको बताउँदै उनले राजनीतिक दलले अब नयाँ ढङ्गबाट नसोच्ने हो भने कोही कसैको भविष्य सुरक्षित नरहने धारणा व्यक्त गरे ।