समाचार

हिउँदे अधिवेशन शुरु

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ ।

नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ । अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने क्रम शुरु भएको छ ।

आजैको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्नु हुने कार्यसूची छ ।