स्वास्थ्य

सुकुम्बासीको समस्या समाधान नभई देशबिकास असम्भबः उपप्रधानमन्त्री यादव

लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भने ।

प्रदेश नं २ मा सबैभन्दा बढी सुकुम्बासी र भूमिहीनताको समस्या रहेको उल्लेख गर्दै वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका सरकारले योजना अघि बढाइसकेको बताए ।
संविधानले नै भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि सुनिश्चित गरिसकेको चर्चा गर्दै उनले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म देशको समग्र विकास सम्भव नहुने दाबी समेत गरे ।

वास्तविक भूमिहीन सधैँ भूमिहीन नै भइरहने, हुकुम्बासी चाहीँ सुकुम्बासीको नाममा लुटिरहने प्रवृत्ति देखिदै आइरहेको छ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले भने,“यो असाध्यै दुःखद् कुरा हो, यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म सुकुम्बासी र भूमिहीनताको समस्या समाधान हुन सक्दैन् ।”

पटकपटक सुकुम्बासी समस्या समाधानका लागि आयोग बने तर, ती आयोगबाट समेत सन्तोषजनक काम हुन नसकेकाले अब सचेत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल बसोवास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले प्रदेश नं २ मा मात्रै करीब रु तीन लाखको हाराहारीमा भूमिहीन सुकुम्बासीहरु रहेको चर्चा गर्दै समस्या समाधानका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

नेपाल बसोवास बस्ती संरक्षण समाजका नं प्रदेश २ संयोजक सुभेन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेकपाका युवा नेता तथा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम, सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेखा यादव, अधिकारकर्मी विनोदकुमार विश्वकर्मालगायतले भूमिहीन सुकुम्वासी समस्या बारे बोले ।