बाग्मती

लाटोकोसेरोसहित दुई पक्राउ

काठमाडौँ । संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट संरक्षित पंक्षी लाटोकोसेरोको समेत उद्धार गरिएको छ ।

अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ ।