गण्डकी प्रदेश

सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित ज्येष्ठ नागरिक र अन्य ज्येष्ठ नागरिकलाई गरी उक्त भत्ता रकम वितरण गरेको हो । नगरपालिका मातहतमा रहेका १४ वटा वडाका ६ हजार ७५० जनालाई उक्त रकम वितरण गरिएको नगरपालिकाका पञ्जिकाधिकारी विष्णुकुमार जोशीले जानकारी दिए ।

उहाँका अनुसार वडा न। १ मा २८२, वडा नं २ मा २३९, वडा नं ३ मा १३६, वडा नं ४ मा २४७, वडा नं ५ मा ५१७, वडा नं ६ मा ५९०, वडा नं ७ मा ५०९, वडा नं ८ मा ४२४, वडा नं ९ मा ५९३, वडा नं १० मा ७३०, वडा नं ११ मा ८२३, वडा नं १२ मा ६२६, वडा नं १३ मा ४९८ र वडा नं मा ४३३ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिएका हुन् ।

त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को प्रथम चौमासिकमा ६ हजार ९३९ जनालाई रु तीन करोड ९५ लाख ५३ हजार ६०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको सूचना अधिकारी गोकर्णराज वाग्लेले बताए । नगरपालिका कार्यालयले तय गरेअनुरुप अतिअशक्तलाई मासिक रु ६००, लोपोन्मुख र पूर्ण अशक्तलाई मासिक रु दुई हजारका दरले र अन्यलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराइएको उहाँले जानकारी दिए।

७० वर्ष नाघेका सबै ज्येष्ठ नागरिकलाई खाइपाइ आएको भत्ता रकमसहित औषधि उपचारवापत मासिक रु एक हजार थप गर्ने व्यवस्था गरिएको छ ।