प्रदेश 1

लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

तेह्रथुम । लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो ।

सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सञ्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव रहेका छन् ।

यस्तै सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्र, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका छन् । यस्तै जिल्ला बार एशोसिएशन, उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् ।

सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यविधिबमोजिम काम गर्ने सञ्जालका संयोजक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।