समाचार

अवैध मदिरा र लागुपदार्थविरुद्धको अभियानमा प्रहरी

बर्दिवास । आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागुपदार्थ कारोवारी र दुव्र्यसनीसँगै मदिराको लत लागेका व्यक्तिको संलग्नता रहने गरेको निष्कर्षमा पुगेको प्रहरीले जिल्लामा अवैध मदिराका भट्टी नष्ट गर्ने र दुव्र्यसनीको खोजी गर्ने अभियान नै सञ्चालन गरेको हो ।

यसक्रममा प्रहरीले गाँजाका पुराना एक कारोवारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५७ मा १५९ किलो गाँजा र गाँजा थिच्ने फलामे मेशिन बरामद भएको घटनामा फरार जिल्लाको एकडारा गाउँपालिका–३ का महाजन दास तत्मालाई प्रहरीले पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको हो । तत्माबारे थप अनुसन्धान र अदालती कारवाही थालिएको प्रहरीले जनाएको छ ।

जिल्लामा प्रहरीले जारी पुस महीनाको दोस्रो साताभित्रै अवैध मदिराका एक दर्जनभन्दा बढी भट्टी नष्ट गरेर करीब १० हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने ड्रम र अन्य भाडा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले गत असोजयता बर्दिवास, गौशाला, भङ्गाहा, जलेश्वर, लोहारपट्टी र मटिहानीसहितका नगरपालिका क्षेत्रमा गरी ३० भन्दा बढी अवैध मदिरा भट्टी नष्ट गरिएको जनाएको छ ।

आपराधिक घटनामा पक्राउ परेकाको बयान, पीडितको जाहेरी र घटना प्रकृतिले बढीजसो आपराधिक घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनीको संलग्नता देखिएपछि यसविरुद्ध अभियान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्की बताए ।

पछिल्लोपटक प्रहरीले थालेको सघन खोज अभियानमा लागुपदार्थ दुव्र्यसनमा विद्यालय पढ्न जाने किशोर उमेरका विद्यार्थी पनि सामेल हुने गरेका पाइएको प्रहरीले जनाएको छ । अवैध मदिरा र लागुपदार्थ दुव्र्यसनविरुद्ध घरघरमै सजगता आवश्यक रहेको बताउँदै प्रउ कार्कीले आफ्ना नानीहरुको खोजीनीति, उनीहरुको सङ्गत र आनीबानी सधैँ ख्याल गर्न सबै अभिभावकसँग आग्रह गरे ।