समाचार

लिटरेचर फेस्टिभल सम्पन्न: आदर्श र मूल्यमान्यता सहितको राजनीतिमा नेता थापा र मिश्रको जोड

पोखरा । बुकवर्म फाउण्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित आईएमई नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको ‘अबको नेतृत्वः कसको, कस्तो ?’ विषयक संवाद कार्यक्रममा मूल्य सहितको राजनीति वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ ।

मूल्य र संस्कारको अभावमा राजनीति प्रति नै वितृष्णा जाग्दै गएकोमा सहमत बन्दै सहभागी नेताहरूले संस्कार युक्त राजनीति अपरिहार्य भएकोमा जोड दिए ।

पत्रकार गुणराज लुइँटेलको प्रस्तुति रहेको संवादमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पछिल्लो समय नेतृत्व वर्गमा देखिएका गुण अवगुणका साथै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि चर्चा गरे ।

नेतृत्वको कमजोरी एवं स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल गोरेटो पहिल्लाउन नसकेकोमा नेताहरूको टिप्पणी थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको बताए । उनले पार्टीमा रहेका विभिन्न पेशागत सङ्घ सङ्गठन हटाउने पक्षमा आफू रहेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नेता गगन थापाले नेतृत्वमा आफू मात्रै हुनुपर्छ भन्ने प्रवृत्ति विकासमा बाधक भएको बताउँदै यस्तो प्रवृत्तिमा सुधार नहुँदासम्म सही नेतृत्व नआउनेमा जोड दिए । प्रत्येक नेपाली जनता समृद्ध बन्न सक्ने किसिमको कार्ययोजना एवं नीतिका आधारमा अघि बढ्ने नेतृत्व जनताले अपेक्षा गरेको बताउँदै उनले मूल्य र संस्कारयुक्त राजनीतिमा जोड दिए ।

विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्ता ठूला पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवं सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनले नेतृत्व वर्गबाटै भ्रष्टाचार उन्मूलन नहुँदासम्म विकास एवं समृद्धि सम्भव नहुने उल्लेख गरे ।

महोत्सवअन्तर्गत आजको ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ विषयक सत्रमा मनीषा कोइराला, आनी छोइङसँग संवाद भएको थियो । पत्रकार यज्ञेशको प्रस्तुतिको संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ता थिए । उक्त सत्रमा कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरण एवं देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल गरिएको थियो ।

अर्को सत्रमा ‘सङ्घीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग संवाद गरेका थिए । संवादमा सङ्घीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवं यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि विश्लेषण गरिएको थियो ।

त्यस्तै म किन राष्ट्रवादी होइन ?’ विषयक सत्रमा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे । ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकको छलफलमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरेका थिए।

सो अवसरमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, यहाँका अव्यवस्था, कुरीति, कुसंस्कार एवं अब लिनुपर्ने दिशाबारे छलफल गरिएको थियो । ‘द वेवार्ड डटरः अ काठमान्डू स्टोरी’ शीर्षकको संवादमा मुना गुरुङ र श्रद्धा घलेले भाग लिए भने ‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहसिए भने नयनराज पाण्डेले भाग लिए ।

उक्त संवादमा साहित्यमा सेन्सरसिपको अवस्थासँगै लेख्न हुने, नहुने आदि विषय वस्तुबारे छलफल गरे भने ‘चाल्र्स शोभराजः इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचनमा पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गरे । उक्त कुराकानीमा पुस्तक लेख्नुका कारणसँगै यहाँ समेटिएका अन्य पक्षबारे छलफल गरिएको थियो ।

‘दन्त्यकथा’ यो शीर्षकको छलफलमा प्रदीप गिरिले दन्त्य कथासँगै मिथकबारे पनि प्रवचन दिएका थिए । महोत्सवको अन्तिम सत्रमा विभिन्न ११ जना कविले कविता वाचन गरे । समसामयिक, राजनीतिक, आर्थिक आदि विविध विषय वस्तुमा आधारित रहेर लेखिएका कविता वाचन गरिएको थियो ।

यसैबीच चार दिनदेखि फेवाताल किनारामा जारी यस वर्षको आईएमई नेपाल लिटरेचर फेस्टिभल आजबाट सम्पन्न भएको छ ।