समाचार

पाँच लाख नगदसहित रङ्गेहात सात जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा रु चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

घरेलु मदिरा नष्ट

महानगरीय प्रहरी परिसर काठमाडौँले २० हजार ८७५ लिटर अवैध मदिरा नष्ट गरेको छ । परिसरको टोलीले तारकेश्वर नगरपालिका–९ मनमैजु ग्याडोलस्थित अवैधरुपमा उत्पादन गरी बिक्रीवितरण गरिरहेको अवस्थामा सो घरेलु मदिरा बरामद गरेको हो । मनमैजुमा नौ वटा अस्थायी टहरा बनाई उत्पादन गरिरहेको सूचनाका आधारमा परिसरको टोलीले उत्पादित मदिरा बरामद गरी वडाध्यक्ष बलराम सापकोटा र स्थानीयवासीको रोहवरमा नष्ट गरेको छ ।