राजनीति

बुधबार नेकपाको पुनः बैठक, ४६ सदस्यले पार्टी र सरकार सञ्चालनमा प्रतिउत्तर !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिउत्तर दिने भएका छन् ।

गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राखेका थिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राखेका थिए। अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएको नेता श्रेष्ठले जानकारी दिए ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएकामा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने बताइएको छ ।